ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना बित्दा सरकारको आम्दानी र खर्च दुवै पक्ष कमजोर देखिएका छन् । महालेखा नियन्त्रक कार्यालय का तथ्याङ्कअनुसार यो अवधिसम्म राजस्व संकलन वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च ४० प्रतिशतमै सीमित भएको छ ।
सरकारले चालु आवका लागि कुल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । तर माघ मसान्तसम्म रू आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख मात्रै खर्च भएको छ, जुन कुल विनियोजनको ४० दशमलव ८ प्रतिशत हो । चालुगततर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड छुट्याइएकामा ४७ दशमलव ६२ प्रतिशत (रू पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख) खर्च भएको देखिन्छ ।
यस्तै, पुँजीगत खर्च अत्यन्तै न्यून रहँदै आएको छ। रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भए पनि १५ दशमलव ६२ प्रतिशत (रू ६३ अर्ब ७२ करोड ९९ लाख) मात्र खर्च हुन सकेको छ । वित्तीय व्यवस्था शीर्षकमा ४६ दशमलव ७१ प्रतिशत प्रगति भएको छ, जहाँ रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये रू एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको विवरण छ ।
राजस्व संकलनतर्फ पनि लक्ष्यअनुसार उपलब्धि देखिएको छैन । सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख उठाउने लक्ष्य राखेकोमा हालसम्म ४४ दशमलव ४९ प्रतिशत मात्र प्रगति भएको छ । यस अवधिमा रू छ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख राजस्व उठेको छ । त्यसमध्ये कर राजस्व ४५ दशमलव २१ प्रतिशत (रू पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख) र गैरकर राजस्व ४२ दशमलव ५५ प्रतिशत (रू ६५ अर्ब ७१ करोड तीन लाख) संकलन भएको छ ।
यसैबीच वैदेशिक अनुदान प्राप्ति पनि कमजोर देखिएको छ । रू ५३ अर्ब ४४ करोड ६९ लाख अनुदान लिने लक्ष्य रहेकामा माघ मसान्तसम्म रू १२ अर्ब ८३ करोड ७९ लाख मात्रै, अर्थात् २४ दशमलव ०२ प्रतिशत मात्र उपलब्धि भएको कार्यालयले जनाएको छ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया