२०८२ फाल्गुन ३ | Feb 15, 2026

प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु, समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
765 views

ललितपुर । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सुरु भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबिच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गरेका छन् । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ हुनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ ।

मतपत्र छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताए । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ। उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ। प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने छ।

निर्वाचन व्यवस्थापनका क्रममा आयोगबाट सम्पादन गरिने हरेक क्रियाकलाप उत्तिकै महत्वपूर्ण भएको सो अवसरमा कार्यवाहक प्रमुख भण्डारीले बताए । निर्धारित कार्यतालिका अनुसार आयोगले जुन दिन जुन कार्य सम्पन्न गर्ने भनेर निर्धारण गरेको हुन्छ सोही अनुसार नै कार्यसम्पादन गर्नै पर्ने अनिवार्य दायित्व हुने गरेको पनि उनले बताए ।

प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनु हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

कार्यवाहक प्रमुख भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताए । निर्वाचन आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया