ललितपुर । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने सामग्रीमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकता दिने निर्णय गरेको छ । निर्वाचनलाई सरल, खर्चिलो नबनाउने र पारदर्शी बनाउने उद्देश्यसहित यो नीति अपनाइएको आयोगले जनाएको छ ।
स्थानीय उत्पादनको प्रयोग र प्रोत्साहनमार्फत निर्वाचन व्यवस्थापन प्रभावकारी बनाउने लक्ष्यका साथ आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने तयारी गरेको हो । निर्वाचनका क्रममा आवश्यक पर्ने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला तहबाटै खरिद गरी प्रयोग गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रबाट भने १४ प्रकारका सामग्री मात्रै खरिद गरिनेछ । तीमध्ये अधिकांश सामग्री ‘जिटुजी’ (सरकार–सरकार) अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत व्यवस्थापन गरिनेछ । निर्वाचनका लागि नयाँ सामग्री खरिदमा करिब ६ करोड ७५ लाख रुपैयाँ मात्र खर्च गरिएको र बाँकी आवश्यक सामग्री पुरानै भण्डारबाट पुनः प्रयोगमा ल्याइने आयोगले जनाएको छ ।
फागुन २१ गते तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदानसम्बन्धी कार्यक्रमहरू भने यसअघि नै सम्पन्न भइसकेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया