बैतडीमा बसको ढोकाबाट खसेर वृद्धको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २९
|
561 views

ललितपुर - ललितपुर – बैतडीमा चलिरहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्ट गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दशरथचन्द राजमार्गअन्तर्गत गुरुखोला मोडमा साँझ करिब ४ः४० बजे दुर्घटना भएको हो ।

घाइते भट्टलाई तत्कालै जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार टाउकोमा गम्भीर चोट र कानबाट अत्यधिक रगत बगेका कारण मृत्यु भएको हुन सक्ने बताइएको छ ।

घटनापछि बस र चालक दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube