
ललितपुर - रौतहटको बौधीमाई नगरपालिकाको बङ्कुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–९ स्थायी ठेगाना भई हाल बौधीमाई नपा–९ मा रहँदै आएका करिब २८ वर्षीय दीपेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्थानीय मौलापुर–बङ्कुल सडकमा आज बिहान यात्रा गरिरहेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा निजको मृत्यु भएको बङ्कुल प्रहरी चौकीका सहायक निरीक्षक रमेशप्रसाद यादवले जानकारी दिनुभयो । घटनास्थल सो प्रहरी चौकीबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको छ ।
प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार सो घटनाको सन्दर्भमा विस्तृत रुपमा अनुसन्धान भइरहेको र मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
रोजगारीका सिलसिलामा विदेश गई एक हप्ताअघि मात्र गाउँ फर्केका मृतक दास मौलापुरस्थित ससुराली घरमा बस्दै आएको र निजको श्रमतीसहित दुई छोरी रहेको बौधीमाई नपा–९ का वडाअध्यक्ष मुक्तिनारायण मिश्रले जानकारी दिनुभयो ।

बिजनेस पाटी















