प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घनमा ८७ स्पष्टीकरण, ५७ जवाफ प्राप्त

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
612 views

ललितपुर - ललितपुर – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोग नेपाल ले जनाएको छ।

हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आवद्ध पत्रकारलाई प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुने भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ।

जिल्लास्तरमा प्राप्त उजुरीमाथि आवश्यक कारबाही भइरहेको र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आचारसंहिताको अनुगमन प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube