ललितपुर – अफगानिस्तानका नङ्गरहार, पक्तिका र खोस्तका सात स्थानमा पाकिस्तानले हवाई आक्रमण गरेको जनाइएको छ । जियो न्यूजले इस्लामाबादस्थित सुरक्षा स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।
पाकिस्तानले पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियास्वरूप सीमापार कारबाही तीव्र पारेको बताइएको छ । लक्षित स्थानहरूमा नङ्गरहार र खोस्तका विभिन्न केन्द्र तथा पक्तिकाका बरमल क्षेत्रसमेत परेको उल्लेख गरिएको छ ।
यसअघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० आतङ्ककारीलाई निसस्त्र बनाइएको बताएका थिए । पाकिस्तान सरकारले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी), यसका सम्बद्ध समूह र इस्लामिक स्टेट–खोरासन प्रान्त (दाइश–खोरासन)सँग सम्बन्धित शिविरहरूलाई लक्षित गरिएको दाबी गरेको छ ।
पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई ‘सटीक र सही’ प्रतिशोधात्मक कारबाही भनेको छ । इस्लामाबादले हालैका आत्मघाती विस्फोटहरूको बदला स्वरूप आक्रमण गरिएको दाबी गरेको छ ।
सन् २०२० को दोहा सम्झौताअनुसार अफगान भूमिलाई आतङ्कवादका लागि प्रयोग हुन नदिने प्रतिबद्धता गरिएको स्मरण गराउँदै पाकिस्तानले काबुल प्रशासन असफल भएको आरोप लगाएको छ ।
हालै खैबर पख्तुनख्वा र बलुचिस्तानमा हिंसा बढेसँगै दुई देशबीच तनाव चर्किएको छ । काबुलले भने आतङ्कवादी गतिविधि सम्बन्धी पाकिस्तानको आरोप अस्वीकार गर्दै सुरक्षा चुनौती आन्तरिक विषय भएको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया