
ललितपुर - खडेरी हुने चैत–वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।
उपयुक्त समयमा पानी परेपछि तराई तथा पहाडी दुवै क्षेत्रमा मकैबाली राम्रोसँग फस्टाएको छ। रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहालका अनुसार यसपटक छर्ने बेलादेखि नै वर्षा भएकाले मकै रोप्न र गोडमेल गर्न सहज भएको छ ।
चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले पनि निरन्तर वर्षाले उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगरले डाँडापाखामा लगाइएको मकै समेत राम्रोसँग बढिरहेको बताए ।
जिल्लाको पहाडी क्षेत्रका सुक्खा बारीहरूमा छरेको मकैलाई वर्षाले विशेष राहत पुर्याएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार मकै रोप्ने सिजनमै वर्षा सुरु भएकाले यस वर्ष उत्पादन राम्रो हुने सम्भावना छ ।
उदयपुरमा हरेक वर्ष करिब ११ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ। यसपटक मौसम यस्तै अनुकूल रहेमा उत्पादनमा करिब २० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ ।

बिजनेस पाटी