मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २०
|
918 views

ललितपुर - ललितपुर – संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गर्नुभएको छ ।

प्यानलको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै उहाँले कृत्रिम बुद्धिमत्ता अभूतपूर्व गतिमा विकास भइरहेको र यसले विश्व अर्थतन्त्र, श्रम बजार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा शासन प्रणालीमा गहिरो र दीर्घकालीन प्रभाव पारिरहेको बताउनुभयो । यस्तो तीव्र परिवर्तनशील प्रविधिको समग्र प्रभाव कुनै एक देश, कम्पनी तथा अनुसन्धान संस्थाले मात्र बुझ्न नसक्ने भएकाले विश्वव्यापी सहकार्य र वैज्ञानिक आधारमा साझा समझ निर्माण अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

महासचिव गुटेरेसका अनुसार कृत्रिम बुद्धिमत्ताले शान्ति र सुरक्षादेखि मानवअधिकार तथा दिगो विकाससम्मका क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । एकातिर यसले उत्पादकत्व वृद्धि, नवीन आविष्कार र सेवाको पहुँच विस्तार गर्न सक्छ भने अर्कोतर्फ दुरुपयोग, गलत सूचना प्रसार, गोपनीयता हनन तथा असमानता बढ्ने जोखिम पनि रहेको उहाँले चेतावनी दिनुभयो । त्यसैले यस प्रविधिको प्रयोग सुरक्षित, पारदर्शी, समावेशी र मानवकेन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नवगठित प्यानलले स्वतन्त्र र निष्पक्ष वैज्ञानिक मूल्याङ्कनका आधारमा विश्व समुदायलाई विश्वासयोग्य सल्लाह र सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्यानलका सदस्यहरू व्यक्तिगत हैसियतमा कार्य गर्नेछन् र कुनै सरकार, निजी क्षेत्र तथा अन्य संस्थाको प्रभावमा नपरी स्वतन्त्र रूपमा अनुसन्धान र विश्लेषण गर्ने व्यवस्था गरिएको छ । उहाँहरुले कृत्रिम बुद्धिमत्ताको विकास, जोखिम व्यवस्थापन, नैतिक मापदण्ड तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावित ढाँचाबारे सिफारिस तयार पार्नेछन् ।

संयुक्त राष्ट्र महासभाले ४० सदस्यीय यस प्यानल गठन गरेको हो, जसका सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ । महासचिवले यस पहललाई मानवताका हितमा प्रविधिको उपयोग सुनिश्चित गर्ने ऐतिहासिक अवसरका रूपमा वर्णन गर्दै सबै देशलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube