ललितपुर – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो सदस्य संस्था नेपाल फुटबल खेलाडी संघले सातदोबाटो स्थित केन्द्रीय कार्यालयमा गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एन्फाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन २४ गते कुनै पूर्व जानकारी र संवादबिना गरिएको तालाबन्दीले खेलकुद संस्थाबीचको सहकार्यमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ । संघले मातहत संस्थाहरूसँग संवादको ढोका सधैं खुला रहेको बताउँदै ‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लब र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ ।
विज्ञप्तिअनुसार राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको छ । साथै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा पनि एन्फा प्रतिबद्ध रहेको जनाइएको छ ।
एन्फाले खेलाडीहरूको पुरस्कार, तलब तथा भत्तासम्बन्धी विषयमा वर्तमान कार्यसमितिले घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकेको र अघिल्ला कार्यसमितिले बाँकी राखेका रकम पनि आन्तरिक स्रोतबाट क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
संघले तालाबन्दीका कारण ‘ए’ डिभिजन लिग, एन्फा यू–१६ लिग, महिला लिग, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र लाओस बीच हुने खेलको तयारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।
एन्फाले खेलाडी संघलाई तालाबन्दी तत्काल खोल्दै संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । साथै नेपाली फुटबल गतिविधि प्रभावित भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने जनाएको छ ।
त्यसैगरी, एन्फाले आफ्नो भौतिक संरचना र नियमित गतिविधिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग सहयोग माग्ने पनि जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया