अङ्ग परिवर्तनपछि देखिने स्वास्थ्य समस्याका लागि छुट्टै नीति आवश्यक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
612 views

ललितपुर - ललितपुर – अङ्ग परिवर्तनपछिका सङ्क्रमण र जटिलता व्यवस्थापनका लागि छुट्टै नीति, ऐन तथा कार्यक्रम आवश्यक रहेको सरोकारवालाले औँल्याएका छन् । विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र यौन अङ्ग परिवर्तन गरेका तथा इच्छा राख्ने व्यक्तिहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका सेवाबाट आफ्ना समस्या सम्बोधन नभएको गुनासो गर्दै अलग नीति र कार्यक्रमको माग गरेका हुन् ।

नेपाल परिवार नियोजन सङ्घ र नीलहीरा समाज को सहकार्यमा पुल्चोकस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘हाम्रो समुदाय, हाम्रो उत्तरदायित्व’ कार्यक्रममा सहभागीहरूले सरकारी अस्पतालमा अलग ‘हर्मोनल क्लिनिक’ स्थापना गर्नुपर्ने बताएका छन् । हाल देशमा ट्रान्सजेण्डरको यकिन तथ्याङ्क नभएको पनि उल्लेख गरिएको छ ।

सहभागीहरूले भने, ‘सरकारी अस्पतालमा ‘हर्मोनल क्लिनिक’ भए यौन अङ्ग परिवर्तनपछिको स्वास्थ्य जोखिम कम हुन्थ्यो । ‘हर्मोनल ब्यालेन्स’ नहुँदा एञ्जाइटी र इन्फेक्सनसमेत हुने गर्छ, त्यसैले ‘हर्मोन ब्यालेन्स’ गर्ने औषधि निःशुल्क हुनुपर्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख शर्मिला दाहालले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनले सबैका लागि सेवा सुनिश्चित गरेको स्पष्ट पार्दै ‘हर्मोनल’ सेवा सञ्चालनका लागि नियमावली आवश्यक हुने बताउनुभयो । उहाँले समुदायबाट पर्याप्त एड्भोकेसी र एकताबद्ध पहल आवश्यक रहेको उल्लेख गर्दै सरकार सहयोगी रहने धारणा व्यक्त गर्नुभयो ।

उहाँले थप भन्नुभयो, ‘नीति नबनी तत्काल सेवा सञ्चालन सम्भव छैन, कुन तहको अस्पतालमा कसरी सेवा दिने भन्ने स्पष्ट हुनुपर्छ। समुदायभित्रकै मतभेदले पनि काम गर्न कठिनाइ भएको छ ।

नेपाल परिवार नियोजन सङ्घ का कार्यकारी निर्देशक डा. प्रवीण शाक्यले स्पष्ट नीति अभावका कारण ‘हर्मोन क्लिनिक’ सञ्चालन गर्न नसकिएको बताउँदै यस विषयलाई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक मुद्दासँग जोडेर नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै नीलहीरा समाज की प्रमुख मनिषा ढकालले अस्पताल जाँदा लाञ्छना र विभेद सहनुपरेको गुनासो गर्दै ‘हामी पनि यही देशका नागरिक हौँ, सेवामा सम्मान र समान व्यवहार चाहिन्छ’ भन्नुभयो ।

कार्यक्रममा सहभागीहरूले सेवाका लागि विदेश जानुपर्ने बाध्यता र आर्थिक कठिनाइ रहेको उल्लेख गर्दै चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना ‘हर्मोन’ सेवन गर्दा समस्या बढ्ने भएकाले यसबारे सरकार गम्भीर हुनुपर्ने माग गरेका थिए ।

कार्यशालाको अन्त्यमा परिवार नियोजन सङ्घको अगुवाइमा परिवार कल्याण महाशाखामा विस्तृत प्रतिवेदन बुझाउने निर्णय गरिएको जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube