ललितपुर - ललितपुर – आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भारत सरकारले नेपाललाई करिब ७०० करोड भारतीय रुपैयाँ, अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२६/०२७ को बजेट भाषणमा यो घोषणा गरिएको छ ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई ७३० करोड भारतीय रुपैयाँ बराबरको अनुदान दिने संशोधित अनुमान गरिएको छ । यसरी नेपाललाई उपलब्ध गराइने अनुदानले शिक्षा, स्वास्थ्य, पूर्वाधार र विकासका विभिन्न क्षेत्रलाई सघाउने अपेक्षा गरिएको छ ।
भारतले छिमेकी मुलुकहरूमध्ये सबैभन्दा बढी अनुदान भुटानलाई प्रदान गर्दै आएको छ। आगामी आर्थिक वर्षमा भुटानलाई करिब २ हजार २८८ करोड भारतीय रुपैयाँ बराबरको अनुदान दिने घोषणा गरिएको छ ।
साथै, पाकिस्तानबाहेक भारतले दक्षिण एसियाका अन्य सबै मुलुकलाई विभिन्न कार्यक्रम र विकास परियोजनाहरूका लागि अनुदान उपलब्ध गराउँदै आएको छ। यसले क्षेत्रीय समृद्धि र सहयोगलाई अझ बलियो बनाउन सहयोग पुर्याउने छ ।
विशेषज्ञहरूका अनुसार, भारतको यस्तो आर्थिक सहयोगले नेपालको विकास परियोजनामा थप गति मिल्ने छ, साथै दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी