ललितपुर – गत माघ महिनामा काठमाडौँ जिल्लामा ९७६ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये १५९ जघन्य तथा गम्भीर प्रकृतिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२ मुद्दा दर्ता भएका छन् । आर्थिक अपराधका ४६६ मुद्दा र अन्य विभिन्न प्रकृतिका ३४० मुद्दा दर्ता भएको सार्वजनिक विवरणमा उल्लेख छ ।
यस अवधिमा ‘विशेष अपरेसन’ सञ्चालन गरी मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ ३६० जनालाई पक्राउ गरी रु दुई करोड २० लाख जरिवाना असुल गरिएको छ । चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ, जसमा ६३७ पुरुष रहेका छन् ।
महिला तथा बालबालिकासम्बन्धी उजुरीतर्फ घरेलु हिंसाका १४९ र ठाडो निवेदन ४९ दर्ता भएका छन् । तीमध्ये घरेलु हिंसाका १३१ र ठाडो निवेदनका ३६ मुद्दामा मिलापत्र भएको प्रहरीले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया