बबिना भट्टराई र राज सिग्देलको स्वरमा ‘सम्झेर प्यार’ सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १७
|
204 views

ललितपुर - समकालीन नेपाली गजल क्षेत्रमा नयाँ भाव, नयाँ संवेदना र गहिरो आत्मीयताको सुगन्ध थप्दै गजलकार आरजु गिरीद्वारा रचित दिक्पाल छन्दको मनोभावनात्मक गजल “सम्झेर प्यार” सार्वजनिक भएको छ । यस गजलले आधुनिक प्रेमका सूक्ष्म मनोवैज्ञानिक आयामहरूलाई परम्परागत छन्दको अनुशासनभित्र समेट्दै श्रोता तथा दर्शकमाझ विशेष प्रभाव छाड्न सफल भएको देखिन्छ ।

गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको मधुर स्वर र संगीत संयोजन रहेको छ भने उनलाई पुरुष स्वरमा गायक राज सिग्देलले साथ दिएका छन् । नेपाली गजलबहार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस कृतिको एरेन्ज किरण कँडेलले गरेका हुन् । रेकर्डिङ म्युजिक नेपालमा नकुल कार्कीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

    भिडियोतर्फ, सरोज बुढाथोकीको श्रृङ्गारमा बबिना भट्टराई र राज सिग्देल नै फिचर्ड छन् । दृश्य र श्रव्य दुबै पक्षमा सन्तुलन मिलाउँदै गजललाई आकर्षक प्रस्तुति दिन सफल भएको देखिन्छ ।

    यस गजलका प्रत्येक शेरले प्रेम, स्मृति, प्रतीक्षा, आकांक्षा र समर्पणका गहिरा तहहरूलाई उजागर गर्छन् । उदाहरणका रूपमा

    सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी
    लेखेर प्रेम गाथा आहा भयो कहानी

    यो शेरले प्रेमलाई केवल क्षणिक अनुभूति नभई जीवनको मार्गदर्शक शक्तिका रूपमा चित्रण गरेको छ। प्रियको सम्झनाले नै जीवनलाई अर्थपूर्ण बनाउने भाव यहाँ स्पष्ट देखिन्छ ।

      त्यसैगरी,

      आनन्द मिल्छ पक्कै आएर पास मेरो
      बस्दा अनन्त एक्लै बित्ला यसै जवानी…

      यस शेरले एक्लोपनको पीडा र साथको आवश्यकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ। प्रेमको अभावमा जीवनका महत्वपूर्ण क्षणहरू समेत अधुरा रहने सन्देश यसमा पाइन्छ ।

      गजलको अन्तिम शेर

      बुन्दैछु प्रेममाला आऊ लिएर डोली
      सुम्पेर जिन्दगी यो तिम्रै हुनेछु रानी

      ले प्रेमको परिपक्वता, समर्पण र सामाजिक स्वीकृतितर्फ उन्मुख गहिरो भावलाई उजागर गरेको छ । यहाँ प्रेम केवल अनुभूति होइन, जीवनभरको प्रतिबद्धता र आत्मसमर्पणको उच्चतम रूपका रूपमा प्रस्तुत गरिएको छ ।

      समग्रमा “सम्झेर प्यार” गजलले दिक्पाल छन्दको लयात्मक अनुशासनलाई कायम राख्दै आधुनिक भावनालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ । आरजु गिरीको शब्द, बबिना भट्टराईको संगीत र स्वर तथा राज सिग्देलको सहगायनले यस गजललाई अझ प्रभावशाली बनाएको छ । यो कृति नेपाली गजल प्रेमीहरूका लागि एक सशक्त र स्मरणीय प्रस्तुति बन्ने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube