विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५औँ स्मृति दिवस

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १६
|
153 views

ललितपुर - विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा सगरमाथा आरोही सङ्घ, बाबुछिरी शेर्पा फाउण्डेशन, परिवारजन र सहकर्मी पर्वतारोहीले तिलगङ्गा, गौशलामा अवस्थित शालिक तथा सङ्ग्रहालयमा आज आयोजित कार्यक्रममा धर्मगुरुले बौद्ध परम्पराअनुसार शान्तिको कामनासहित पूजापाठ गर्नुभएको थियो ।

सङ्घकी अध्यक्ष माया शेर्पा, वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल, अल्पाइन स्पोटस् एशोसिएसन इन्क, अमेरिकाका अध्यक्ष नवाङ ङिमा शेर्पा, बाबुछिरी शेर्पा फाउण्डेशनका उपाध्यक्ष पेम्बा ग्याल्जेन शेर्पा लगायतले सालिकमा माल्यार्पण, दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली अर्पण गर्दै स्व शेर्पाले नेपालमा विश्वसामु चिनाउन सफल हुनुभएको उल्लेख गर्नुभयो ।

सो अवसरमा वक्ताहरुले बाबुछिरीका नाममा शिक्षा, स्वास्थ्य तथा हिमाली समुदायको उत्थानका लागि सञ्चालन भइरहेका विभिन्न सामाजिक कार्यक्रमकाबारेमा जानकारी दिनुका साथै नयाँ पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्न र सुरक्षित आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने पहल जारी रहेको बताइयो ।

सन् १९९० मा फ्रेन्च एभरेष्ट एक्सपिडिसनका मार्क वटार्डसँग गएको आरोहणमा जानुभएका बाबुछिरीले सन् १९९९ मा सगरमाथाको टाकुरामा २१ घण्टाविना अक्सिजन बिताएर विश्वकीर्तिमान राख्न सफल हुनुभएको थियो ।

सन् २००० में मा आधार शिविरबाट १६ घण्टा ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुग्न सफल, सन् १९९५ र १९९९ मा एकै ऋतुमा दुई–दुई पटक सगरमाथाको सफल आरोहण गर्न सफल हिमाली क्षेत्रका लोकप्रिय राष्ट्रिय तारा विश्व कीर्तिमानी आरोही शेर्पाको ३६ वर्षको उमेरमा २०५८ वैशाख १६ गते निधन भएको थियो । बाबुछिरी विलक्षण प्रतिभा र साहसिक कीर्तिमानी भएकाले गोरखा दक्षिणबाहु, उत्कृष्ट राष्ट्रिय युवा पुरस्कार, पासाङल्हामु पुरस्कार, नेपाल पर्वताराहण सङ्घ पुरस्कार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आदि जस्ता दुई दर्जनभन्दा बढी समूह तथा सङ्घसंस्थाबाट पुरस्कृत गरिएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube