ललितपुर - ललितपुर – प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।
अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा तेस्रो चरणको सुधार घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ समावेश गरिएको छ। राजनीतिक स्थिरतासँगै आर्थिक विकास र समृद्धिमा जोड दिइएको छ ।
नेपाली कांग्रेसले आगामी पाँच वर्षलाई आर्थिक पुनरूत्थानको अर्धदशक घोषणा गर्दै रु ११५ खर्बको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ । प्रतिव्यक्ति आयलाई २,५०० अमेरिकी डलर पुर्याउने सङ्कल्प पनि राखेको छ ।
विशेष आर्थिक अवसर र संरक्षण मार्फत न्यून आय भएका र सिमान्तकृत समुदायलाई सम्पत्ति सिर्जना गर्ने, उत्पादक र सम्पत्तिको मालिक बनाउने लक्ष्य राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आधा दशकमा रु १०० खर्ब अर्थतन्त्र र एक दशकमा रु २०० खर्ब अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ । कृषि आधुनिकीकरण, विद्युत् उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्ने, सात प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल गर्ने योजना अगाडि सारिएको छ । प्रतिव्यक्ति आय पाँच वर्षमा अमेरिकी डलर ३,००० पु¥याउने लक्ष्य पनि राखिएको छ ।
नेकपाले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरता मार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धि केन्द्रमा राखेको छ । सम्पत्ति शुद्धीकरण, कृषि तथा ग्रामीण अर्थतन्त्रको रुपान्तरण, ऊर्जा र पूर्वाधार विकास, औद्योगिक प्रवद्र्धन, डिजिटल अर्थतन्त्र, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास यसको योजनामा समावेश छ ।
नेशनल स्वतन्त्र पार्टी (रास्वपा) ले उत्पादनमुखी अर्थतन्त्र, रोजगारी विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलन केन्द्रमा राखेको छ । औद्योगिक वातावरण सुधार, स्वदेशी एवं प्रवासी लगानी आकर्षण, औसत वार्षिक ७% आर्थिक वृद्धि, प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने लक्ष्य, अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य राखेको छ ।

बिजनेस पाटी