ललितपुर - प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपाली सेनामाथि गरेको टिप्पणीपछि संसद्मा विवाद भएको छ ।
बैठकमा बोल्दै उनले देश संकटमा पर्दा र परमाधिपतिको मुख्यालयमा धावा बोलिँदा नेपाली सेना किन मौन बसेको भन्दै प्रश्न उठाए ।
उनले भने, देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मूकदर्शक बन्यो ?
त्यस्तै उनले लिपुलेक अतिक्रमणको प्रसंग जोड्दै सेनाले सुकुम्बासी बस्तीमा सक्रियता देखाएको भन्दै प्रश्न गरे ।
लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीमा किन परेड खेल्दै छ ? उनले भने ।
बादलको अभिव्यक्तिप्रति सत्तारुढ मनिष खनाल ले आपत्ति जनाउँदै नेपाली सेनालाई विवादमा ल्याउने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, उहाँले नेपाली सेनालाई विवादमा ल्याउने गरी अभिव्यक्ति दिनुभएको छ ।
त्यसपछि खुस्बु ओली ले पनि समय माग्दै सेनामाथिको टिप्पणीलाई “राष्ट्रिय मनोबलमाथिको प्रहार” भएको टिप्पणी गरिन् ।
नेपाली सेना कुनै दलको संस्था होइन । संगठनप्रति प्रतिशोधपूर्ण अभिव्यक्ति नदिन आग्रह गर्दछु, उनले भनिन् ।
सभामुख डोलप्रसाद अर्यालले विवाद बढेपछि सांसदहरूलाई संयमित अभिव्यक्ति दिन आग्रह गरेका थिए ।

बिजनेस पाटी
















