रसुवा बाढीले खोसेको खुसीः बिर्साएको चाड

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३१
|
102 views

ललितपुर - रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए । तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन । सधैँ बाबुको मुख हेर्ने दिन बिहानै फोन गर्ने तथा कुनै वर्ष अनुकूल समय मिलाएर आफ्नै हातले विभिन्न परिकार छोराले ख्वाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टको त्यो दिन रुँदै बित्यो ।

तीजमा सधैँ भाइको स्नेह र सम्झना पाउने ध्रुवकी छोरी सृजनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो । ‘प्रत्येक वर्ष भाइ तीज आउन पाँच-सात दिन पहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो, यसपालि भने उसकै पछिल्लो खबर सुन्न नपाएर पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन’, सृजना रुँदै बेदना पोख्नुहुन्छ ।

    यस परिवारका सौभाग्य विष्ट भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडवाड आएको कसैलाई हेक्का छ । न आँखा नै ओभाउन पाएका छन् । भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौडदै माइतीघर आउनुभएकी सृजनालाई आपूm जन्मी हुर्केको घर अहिले बिरानोझैँ लाग्दैछ । ‘जसले खोजी गथ्र्यो उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो, अब त तीन साता बितीसके, कहिले पाइएला भाइको खबर ?’ अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहनुभएका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन हुनुभएपछि परिवार गहिरो पीडामा छ ।

    ‘कैयनपटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारी सकियो, सौभाग्यबाबुको कहीँ केही पत्ता लागेन’, पिता ध्रुव रुँदै भन्नुहुन्छ, ‘मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला ?”

    यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ । रानाले आफैँ हेलिकप्टर भाडामा लिएर पनि धेरै खोजी गर्नुभयो । तर जोयाको कहीँ अत्तोपत्तो लागेन । रसुवास्थित जलविद्युत् आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षावन्धन पर्वमा घर आउने बताएकी पिता राना सम्झनुहुन्छ । “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिन पहिले आफैँ हराइ”, पिता खिलबहादुर भक्कानिदै भन्नुहुन्छ । त्यसयता परेका चाडपर्व राना परिवारले केही सम्झेका छैनन् । “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिइ, अब के चाडवाड आउँलान् यो घरमा ?” करिब ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्नुहुन्छ ।

      मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ । भर्खरै यो पर्व सम्पन्न भएको छ । तर रसुवा बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन । राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए, तर मेरो छोराको केही खबर आएन पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्नुहुन्छ, “चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि रोएरै दिन बित्दैछन् ।’

      जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजी रहन्छन् । ‘कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करैछल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल’, अर्थात् कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झगडा गथ्र्यो, तर उसको बाबु त उतै हरायो नाति बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका छोरा सम्झँदै सुशीलदासकी आमा भन्नुहुन्छ । नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थाल्नुभएका सुशील यसपालि यसै क्रममा रसुवाबाट सम्पर्कविहीन हुनुभएको हो ।

      रसुवाबाढीसँगै सम्पर्कविहीन हुनुभएका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरूको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्नुहुन्छ । यसपालिको विनासकारी रसुवा बाढीले धन सम्पत्ति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ ।

      भोेटेकोशी बाढी रसुवा नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन छिचोल्दै भारत पस्यो । आफ्नो गृह जिल्लाबाट सयौँ कोष टाढाको त्यो बाढीले अहिले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ ।

      एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्झन् बढ्दो छ । परिवारको प्रतिपालको मुख्य जिम्मेवारी सम्हालेकाहरु नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन् । रसुवा बाढीमा परी महोत्तरीका १० जना सम्पर्कविहीन छन् । सिङ्गो जिल्लामै अहिले जताततै तीनै १० सम्पर्कविहीनबारे चिन्ता र चासो पाइन्छ । सम्पर्कविहीन परिवारले सरकार, खोज, उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको एकिन अवस्था स्पष्ट पारिदिन अनुनयविनय गरिरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube