रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ११
|
408 views

ललितपुर - रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका २४ जनाका आफन्तले प्रहरीका खोजीकार्यका लागि सम्र्पक गरेको बताउनुभयो ।

प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तहरुले सम्र्पक गरेर खोजीकार्यका लागि आग्रह गरेका छन्, प्रवक्ता रावतले भन्नुभयो, हामीले सम्पर्कविहीन भएका नागरिकको विवरण सङ्कलन गरेर प्रहरी प्रधान कार्यालय पठाइरहेका छौँ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म यहाँको भीमदत्त नगरपालिकाका छ जना, बेलौरी नगरपालिकाका तीन जना, कृष्णपुरका पाँच जना, शुक्लाफाँटा नगरपालिकाका सात जना, लालझाडी गाउँपालिकाका एक र बेदकोट नगरपालिकाका दुई जना बाढी प्रभावित क्षेत्र रसुवाबाट सम्पर्कविहीन छन् ।

      त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गरेपछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले पनि सम्पर्क गरेको जनाएको छ । सम्पर्कविहीन व्यक्तिका आफन्तले दिएको विवरणअनुसार धेरैजसो हाइड्रोमा काम गर्ने मजदुर, नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक र भन्सार र वन कर्मचारीलगायत छन्, प्रवक्ता रावतले भन्नुभयो, खोजीमा सहज होस् भनेर हामीले जिल्लामा विवरण सङ्कलन गरेका हौँ ।

      रसुवामा आएको बाढीका कारण समस्यामा परेका यहाँका नागरिकको खोज तथा उद्धारका लागि स्थानीय प्रशासनले पनि सक्रियता देखाएको छ ।

      त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेश दत्त जोशीका आफन्तले बुधबार बिहानदेखि खोजीका लागि पहल गरिदिन आग्रह गरिरहेका छन् ।

      टिमुरे भन्सार कार्यालयमा कार्यरत जोशीका आफन्तले दिएको जानकारी अनुसार उहाँसित बुधबार बिहान ७ः३० बजे टेलिफोन सम्पर्क भएको थियो । ‘टिमुरे भन्सारमा दुई वर्षदेखि कार्यरत हुनुहुन्थ्यो’, जोशीका छोरी ज्वाइँ टीका भट्टले भन्नुभयो, ‘बुधबारदेखि परिवारका सदस्यहरु सम्पर्क हुने आशामा छौँ ।’

       पात्रो/राशिफल  रेडियो YouTube