ललितपुर - वैशाख २१ गतेदेखिको लगातार वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँच वटा सडक एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार भोजपुर नगरपालिका–बोखिमस्थित मध्यपहाडी लोकमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीस्थित कोशी राजमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड, लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग तथा तनहुँको आबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका हुन् ।
प्रहरीका अनुसार इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक भने अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
यस्तै, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसीस्थित विपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको प्रहरीले जनाएको छ ।
वर्षायाममा बाढीपहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालन भएका सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

बिजनेस पाटी