बाँके राष्ट्रिय निकुञ्जभित्रका बस्ती सार्न पालिकाको सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
663 views

ललितपुर - ललितपुर – बाँके राष्ट्रिय निकुञ्ज भित्र पर्ने बबई गाउँपालिका–१ र ७ का १० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले निकुञ्जलाई उक्त सिफारिस पठाएको जनाइएको छ। स्थानान्तरणका लागि सिफारिस गरिएका बस्तीहरूमा किउरेनी, बन्चरे, बाटुले, गौजे, जीला, सिमलकुना, डाँडागाउँ, कप्ताने, जलजला र मलई रहेका छन् ।

अध्यक्ष खत्रीका अनुसार यी बस्तीहरूमा निकुञ्ज घोषणा हुनुभन्दा ५० वर्षअघिदेखि मानव बसोबास थियो, तर अहिले मध्यवर्ती क्षेत्रमा परेकाले जनजीवन जोखिममा छ । जङ्गली जनावरले घरपालुवा जनावर, बालीनाली र मानवीय सुरक्षामा क्षति पुर्‍याउने गरेको भन्दै स्थानान्तरण आवश्यक भएको उनको भनाइ छ ।

उहाँले थप भन्नुभयो, “मध्यवर्ती क्षेत्रमा बसोबास गर्दा नागरिकले राज्यका पूर्वाधार र सेवाबाट समेत वञ्चित हुनुपरेको छ । जोखिम कम गर्न र नागरिकको जिउधन सुरक्षा सुनिश्चित गर्न बस्ती स्थानान्तरण विकल्प हो ।

पीडित नागरिकले जोखिमयुक्त स्थानमा बस्न बाध्य भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णयसमेत गरेको जनाइएको छ । स्थानीयका अनुसार सडक सञ्जाल र दूरसञ्चारको पहुँच कमजोर छ, जसले दैनिक जीवन झनै कठिन बनाएको छ ।

पालिकाले नागरिकको सुरक्षासँगै निकुञ्जको मध्यवर्ती क्षेत्र कायम राख्दै दीर्घकालीन समाधानका लागि सरकारसँग समन्वय गर्ने जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube