प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ७
|
255 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहको आजदेखि सुरु भएको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुन:चर्चामा आएको छ ।

भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र त्यसबाट सुदूरपश्चिमले भविष्यमा लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन सहजताका लागि सन् २०१४ देखि नै भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको छ ।

उपयुक्त हवाई प्रवेशमार्ग नहुँदा दुवै विमानस्थलको सञ्चालन प्रभावित भइरहेको छ । भारतीय आकाश हुँदै महेन्द्रनगरबाट अन्तरराष्ट्रिय विमानलाई नेपाल प्रवेश अनुमति दिए सहज हुने नेपाली पक्षको बुझाई छ । त्यस आधारमा विगतदेखि नै हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणमा यस विषयमा सहमति जुटाउने प्रयास भइरहेको चर्चापछि सुदूरपश्चिममा यसबारे चासो बढेको छ । यो मार्गबाट प्रवेश अनुमति पाए पश्चिमी क्षेत्र हुँदै नेपाल आउने र बाहिरिने उडान सहज हुने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube