२०८२ चैत्र १७ | Mar 31, 2026

प्रधानमन्त्री शाह र सुदूरपश्चिम सांसदबीच छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १७
|
51 views

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो’, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भन्नुभयो । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताउनुभयो ।

‘सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ’, सांसद खड्काले भन्नुभयो ।

सांसदहरुले प्रस्तुत गर्नुभएका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको उहाँले बताउनुभयो । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया