
ललितपुर - शुक्रबार लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएका छन् । प्रमुख अतिथिका रूपमा तय भइसकेको भए पनि अन्तिम समयमा उनी कार्यक्रमबाट पछि हटेको लुम्बिनी विकास कोषले जनाएको छ ।
कोषका सदस्य श्याम रोक्काका अनुसार प्रधानमन्त्री व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी आएको हो । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले पनि लुम्बिनी जाने कुनै कार्यक्रम नरहेको पुष्टि गरेकी छन् ।
प्रधानमन्त्री नआउने भएपछि अब कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि रहने भएका छन् । सभामुखका स्वकीय सचिवका अनुसार उनी आजै लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समेत प्रमुख अतिथिका रूपमा सहभागी हुने सम्भावना चर्चा भए पनि अन्ततः व्यस्तताका कारण उनी पनि उपस्थित नहुने भएका छन् ।
यता, प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलहरू पनि सार्वजनिक भएका छन् । केही स्रोतले लुम्बिनी विकास कोषका उपाध्यक्षसँग एउटै मञ्चमा बस्न नचाहेकाले उनी कार्यक्रममा नजाने निर्णयमा पुगेको दाबी गरेका छन् । तर आधिकारिक रूपमा भने यस्तो कारण पुष्टि भएको छैन ।
अन्ततः राष्ट्रपति र प्रधानमन्त्री दुवै अनुपस्थित भएपछि बुद्ध जयन्ती समारोहको प्रमुख अतिथि सभामुख अर्याल बन्ने निश्चित भएको छ ।

बिजनेस पाटी
















