ललितपुर । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । यस्तै नेपाली जनसेवा पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–२ का उमेदवार कमल भुसाल (निकोलस भुसाल), श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी–१ का उमेदवार हर्कराज राई (हर्क साम्पाङ) जनसेवा पार्टीका तर्फबाट भक्तपुर–२ मा उमेदवारी दिएकी जानुका पाठक (शोभा पाठक) र भक्तपुर–२ कै उमेदवार एवं नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
भुसाललाई ‘जेनजी’ आन्दोलनको ‘आइकोनिक’ जुत्ता चुनाव चिह्न भनेर प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । धरानका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । पाठकले उमेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, विभिन्न आरोप लगाएको विषयमा स्पष्टीकरण सोधिएको छ । बस्नेतले झापा–५ का उमेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का विषयमा आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया