अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले टी–२० विश्वकप खेल्न भारत नगए बंगलादेशको स्थानमा अर्को देशलाई मौका दिने निर्णय गरेको छ । भारतमा खेल्न नजाने अडानपछि बुधबार बसेको आईसीसी बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेको हो ।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी०लाई आफ्नो अडान पुनः विचार गर्न थप एक दिनको समय दिएको छ। तोकिएको समयभित्र अडान नफेरे बंगलादेशको स्थानमा अर्को टोलीलाई विश्वकपमा सहभागी गराइने आईसीसीले जनाएको छ ।
ईएसपीएन क्रिकइन्फोका अनुसार बंगलादेशको स्थानमा स्कटल्याण्डलाई मौका मिल्ने सम्भावना छ । स्कटल्याण्ड युरोपेली छनोटमा असफल भएपछि २०२६ टी–२० विश्वकपका लागि छनोट हुन सकेको थिएन ।
भारत र बंगलादेशबीचको विवाद आईपीएल २०२६ का लागि कोलकाता नाइट राइडर्सले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि चर्किएको हो । त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको थियो भने बीसीबीले विश्वकपका खेल भारतमा नखेल्ने जानकारी आईसीसीलाई गराएको थियो ।
टी–२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । बंगलादेशका समूह चरणका खेलहरू कोलकाता र मुम्बईमा तय गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया