ललितपुर – बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र नव निर्वाचित सांसदहरूले मङ्गलबार संसदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरू सन् २०२४ को घातक विद्रोहपछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन् ।
शेख हसिनाको निरंकुश सरकार अपदस्थ भएपछि १८ महिनासम्म अन्तरिम सरकारले शासन सञ्चालन गरेको थियो । अब रहमानले सो अन्तरिम सरकारबाट औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारी गरिएको जनाइएको छ ।
नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम. नासिर उद्दीनले शपथ खुवाएका हुन् ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा संसदीय दलको नेतामा चयन गर्ने अपेक्षा गरिएको छ। यसैबीच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।
६० वर्षीय रहमान नेतृत्वको गठबन्धनले फेब्रुअरी १२ मा सम्पन्न निर्वाचनमा उल्लेखनीय जित हासिल गरेको थियो। बीएनपी गठबन्धनले २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।
शान्तिपूर्ण विपक्ष
रहमानले लामो राजनीतिक उथलपुथलपछि देशमा स्थिरता पुनर्स्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत बनेको देशमा सबै दललाई “एकजुट रहन” आह्वान गर्नुभएको छ ।
रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रही बेलायतमा १७ वर्ष निर्वासन बिताएर गत डिसेम्बरमा स्वदेश फर्केका नेताका लागि उल्लेखनीय राजनीतिक पुनरागमनको सङ्केत गरेको छ ।
जमात–ए–इस्लामीका नेता शफिकुर रहमानले आफ्नो पार्टीले “सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्ष” को भूमिका निर्वाह गर्ने बताएका छन् ।
अपदस्थ नेतृ हसिनाको अवामी लिगलाई भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो। मानवताविरुद्धको अपराध अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले भारतमा रहँदै निर्वाचनको आलोचना गरेकी थिइन् ।
यसैबीच भारतले बीएनपीको “निर्णायक जीत” लाई दुई देशबीचको गहिरो तनावपूर्ण सम्बन्धबीच आएको उल्लेखनीय परिवर्तनको संकेतका रूपमा प्रशंसा गरेको जनाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया