ललितपुर - ललितपुर – कैलाली र कञ्चनपुरका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि भएको छ ।
केही समयदेखि पालिएका बङ्गुरमा उच्च ज्वरो, शरीरमा नीलो–रातो धब्बा र अप्रत्याशित मृत्यु देखिएपछि गरिएको परीक्षणबाट रोग पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली परिचालन गरी नमूना सङ्कलन गरेको र केन्द्रीय प्रयोगशालामा पीसीआर विधिबाट रोग पुष्टि गरिएको छ ।
हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सङ्क्रमण देखिएको छ ।
रोग प्रारम्भिक चरणमै छ र जैविक सुरक्षा उपाय नअपनाए ठूलो आर्थिक क्षति हुन सक्ने चेतावनी दिइएको छ ।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेलमा फैलिने घातक भाइरसजन्य रोग हो ।
सङ्क्रमित बङ्गुरमा १०४–१०७ डिग्री फरेनहाइट ज्वरो, खान छोड्ने, झोक्राउने, छट्पटाउने, कान/पुच्छर/पेटमा रातो–नीलो धब्बा, नाकबाट फिँज, बान्ता, चाल धरमराउने जस्ता लक्षण देखा पर्छन् ।
यो रोग मानिसमा सर्दैन, तर साना र मध्यम किसानमा ठूलो आर्थिक क्षति पुर्याउँछ ।
असामान्य लक्षण देखिए वा बङ्गुर धमाधम मर्ने अवस्थामा नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा क्वारेन्टाइन चेकपोस्टमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बिजनेस पाटी