
ललितपुर - बैंकहरूको निक्षेप ब्याजदर मुद्रास्फीतिभन्दा तल झर्न थालेपछि अर्थतन्त्रमा लगानीको वातावरण कमजोर भएको संकेत देखिएको छ ।
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर वैशाखको ४.३९५ प्रतिशतबाट घटेर ४.३४३ प्रतिशतमा पुगेको छ।
तर नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ । यसले गर्दा मुद्रास्फीति र ब्याजदरबीचको सैद्धान्तिक सन्तुलन बिग्रिएको अर्थविद्हरू बताउँछन् ।
अर्थविद् डा. रमेश पौडेल का अनुसार बैंकमा पर्याप्त तरलता भए पनि बजारमा लगानीको माग नहुँदा ब्याजदर घटिरहेको हो । उनका अनुसार उद्योगी–व्यवसायीले अहिलेको अवस्थामा लगानीबाट प्रतिफल आउने विश्वास नगरेकाले कर्जा माग घटेको छ ।
उनले कोभिडपछि उद्योग–व्यवसाय पूर्ण रूपमा चलायमान हुन नसकेको र पछिल्ला आन्दोलन तथा आर्थिक अनिश्चितताले निजी क्षेत्रको मनोबल कमजोर बनेको बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले ब्याजदर महँगीभन्दा कम हुनु आर्थिक सिद्धान्तविपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार यसले बचतकर्ताले वास्तविक प्रतिफल नपाउने अवस्था सिर्जना गरेको छ ।
जेठ महिनामा एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.८ प्रतिशत ब्याजदर दिएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत ब्याजदर कायम राखेको छ ।
यता, कुमारी बैंकले सबैभन्दा कम ३.९६ प्रतिशत ब्याजदर दिएको देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एसिया, नेपाल बैंकलगायत बैंकहरूले पनि ब्याजदर घटाएका छन् । अर्थविद्हरूले अहिलेको आर्थिक सुस्ती हटाउन सरकारले पुँजीगत खर्च बढाएर बजारमा पैसा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् ।

बिजनेस पाटी














