ललितपुर – ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै साना तथा मझौला उद्यम (SMEs) प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘रिभोल्भिङ फण्ड’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ ।
SEDRA परियोजना अन्तर्गत German Development Bank (KfW) को वित्तीय सहयोगमा स्थापना गरिएको उक्त फण्ड सञ्चालनसम्बन्धी समझदारी–पत्र २०८२ माघ २७ गते मंगलबार हस्ताक्षर गरिएको हो ।
समझदारी–पत्रमा नेपाल राष्ट्र बैंकका कायममुकायम निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका छन् ।
समारोहमा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर, परियोजनासँग सम्बद्ध अधिकारी तथा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यस फण्डमार्फत ग्रामीण र अर्ध–सहरी क्षेत्रका साना तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई स्थानीय उत्पादन, रोजगारी सिर्जना र दिगो आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ । वित्तीय पहुँच न्यून रहेका क्षेत्रलाई लक्षित कार्यक्रमले समावेशी आर्थिक विकास प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
समझदारीसँगै ‘रिभोल्भिङ फण्ड’ प्रभावकारी कार्यान्वयनमा आएपछि ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र साना उद्यमीलाई वित्तीय रूपमा सबल बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया