ललितपुर - ललितपुर – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोग ले जनाएको छ ।
निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिएको निर्वाचन आयोग का सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता कार्यविधि अनुसार सबै राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारको आर्थिक कारोबार सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।

बिजनेस पाटी