ललितपुर - ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनु र विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा उच्च रहेको जनाएको छ ।
चालु आवको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति करिब पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएकोमा पहिलो छ महिनामा औसत मुद्रास्फीति १.७ प्रतिशतमा सीमित रहेको छ ।
विदेशी विनिमय सञ्चितिको लक्ष्य कम्तीमा सात महिनाको आयात धान्न पुग्ने राखिएकोमा २०८२ पुससम्म सञ्चिति १८ महिनाको आयात धान्न पर्याप्त रहेको छ ।
राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोर व्यवस्थापन अन्तर्गत बैंकदर ५.७५% र नीतिगत दर ४.२५% कायम गरिएको छ भने स्थायी निक्षेप सुविधा दर यथावत राखिएको छ ।
बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापनका लागि २०८२ पुसमा रू २ खर्ब तरलता प्रशोधन गरिएको छ ।
विस्तृत मुद्राप्रदाय ५.४% मात्र वृद्धि भएको छ, जबकि निजी क्षेत्रतर्फ जाने कर्जा ३.८% मात्र वृद्धि भएको छ ।
आर्थिक गतिविधि प्रवर्द्धन गर्न व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा रू १ करोड र लघुवित्त संस्थाको धितो कर्जा सीमा रू १५ लाख कायम गरिएको छ ।
ट्रष्ट रिसिट (आयात) कर्जा जोखिम भार घटाइएको, कर्जा वर्गीकरण सहजीकरण गरिएको, तथा सूचना प्रविधि उद्योगले २० हजार अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।
नगद कारोबारको सीमा पुनरावलोकन गर्दै रू ५ लाख वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा ‘एकाउन्टपेयी चेक’ वा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

बिजनेस पाटी