ललितपुर – सङ्घीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये करिब आधाले हालसम्म निर्वाचनलक्षित बैंक खाता नखोलेको पाइएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। तर हालसम्म १२० जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिनुभयो ।
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने निर्देशन दिएको छ। निर्वाचन आचारसंहितामै सो व्यवस्था उल्लेख भए पनि आधाभन्दा बढी उम्मेदवारले खाता नखोलेको पाइएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट कारोबार गर्नुपर्ने व्यवस्था छ। यसबारे आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
आयोगले आवश्यक ठानेमा खर्चसम्बन्धी बिल, भरपाई तथा बैंक खाताको विवरण पेस गर्नुपर्ने पनि स्पष्ट पारेको छ ।
भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि रु ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया