२०८२ फाल्गुन ६ | Feb 18, 2026

फागुनमा बैंकिङ ब्याजदर घट्यो, कुन बैंक कति दिने?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २९
|
23.3k views

ललितपुर – वाणिज्य बैंकहरूले फागुन महिनादेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् भने केहीले अघिल्लै दरलाई निरन्तरता दिएका छन् ।

फागुनका लागि मुद्दती निक्षेपतर्फ व्यक्तिगत खातामा औसत ब्याजदर ०.११ प्रतिशतले घट्दै ४.५७ प्रतिशतमा सीमित भएको छ । यसअघि माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेको थियो । यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटेर औसत ३.३३ प्रतिशतमा झरेको छ, जुन माघमा ३.३८ प्रतिशत थियो ।

यस महिनाका लागि ९ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमध्ये कृषि विकास बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएका छन् । यस्तै, नेपाल एसबीआई बैंकले २.७७ प्रतिशत, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत, सानिमा बैंकले ३.३० प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल बैंकले ३.२५ प्रतिशत, कुमारी बैंकले ३.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ३.२५ प्रतिशत, सिटिजन्स बैंकले ३ प्रतिशत, प्रभु बैंकले २.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याज दिनेछन् । यसैगरी एनएमबी, हिमालयन, राष्ट्रिय वाणिज्य तथा एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज कायम गरेका छन् भने नबिल बैंकले ३.५५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको अवस्थामा पछिल्ला महिनाहरूमा ब्याजदर क्रमशः घट्दो क्रममा देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया