ललितपुर हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने देशका बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्ने बताइएको छ ।
रातिको मौसम अवस्था
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी क्षेत्र आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । साथै अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुनसक्नेछ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागमा मेघगर्जन र चट्याङको जोखिम समेत रहने महाशाखाले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया