पहिरोले बेनी बजारका १२ घरमा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १५
|
102 views

ललितपुर - म्याग्दी जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पुर्याएको हो ।

छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका छन् भने छ घरमा आशिंक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । ‘बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ, थप क्षति हुन नदिनका लागि प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ ।’

बेनीको न्युरोडका बासिन्दाले गएराति घर छाडेका थिए । कृषि विकास बैङ्क र ग्लोवल आइएमई बैङ्कको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्र पनि सुरक्षित ठाउँमा सारिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामान सारिरहेका छन् ।

पहिरोको त्रासका कारण न्युरोडबासी रातभर जाग्राम बसेका स्थानीय चिरञ्जिवी शर्माले बताउनुभयो । पहिरो प्रभावित घरका डेरामा बस्नेहरूलाई खानाको व्यवस्था मिलाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पछिल्लो चार दिनयता पहिरोले जमिन चिरा पार्ने क्रम बढेकामा बुधबारदेखि पहिरो खस्न थालेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइमा खरबारी चिराचिरा परेर फुटेको छ । ‘पाखाका रूखहरू लडेका र ढल्किएका छन् । पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्,’ उहाँले भन्नुभयो ।

यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई प्रभावित बनाउने जोखिम छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताउनुभयो ।

भूगर्भविद्हरूको सुझावका आधारमा पहिरोको थप क्षति आकलन गर्न सकिने बताउँदै उहाँले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गर्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube