भक्तपुर क्यान्सर अस्पतालमा बाढी प्रभावित क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १९
|
51 views

ललितपुर - भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर उपचाररत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले सूचना जारी गर्दै बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीलाई अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवाअन्तर्गत बेड शुल्क, प्रयोगशाला परीक्षण शुल्क तथा अक्सिजन शुल्क नलिने जनाएको छ। साथै, उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।

कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै कुल बेडमध्ये १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। सोही व्यवस्थाअन्तर्गत बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका क्यान्सर उपचाररत बिरामीलाई पनि सेवा उपलब्ध गराइने अस्पतालको सूचनामा उल्लेख छ। त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारले प्रदान गर्ने क्यान्सर उपचारसम्बन्धी विभिन्न सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ। स्वास्थ्य बिमा, प्रदेश सरकारबाट उपलब्ध हुने सुविधा तथा विपन्न नागरिकका लागि सरकारले प्रदान गर्ने क्यान्सर उपचार सेवामा समेत आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ।

      उक्त सुविधा लिन चाहने बिरामी तथा आफन्तले अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे, परामर्शदाता प्रमोद राज ढकाल, नर्सिङ प्रमुख लक्ष्मी केशरी श्रेष्ठ, सामाजिक सेवा इकाई प्रमुख बाल केसरी कोजू र सूचना अधिकृत राजमति गोसाईसँग मार्फत जानकारी लिइ आवश्यक सेवाका लिन सकिने अस्पतालले जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube