
ललितपुर - भवानी न्यौपाने दाहालले कर्मचारीहरूलाई कसैको धाकधम्कीबाट नडराई ट्रेड युनियनको अभ्यास जारी राख्न आग्रह गरेकी छन् ।
आफैँ रिट निवेदक बनेर दायर गरिएको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि उनले यसलाई आंशिक विजयको संज्ञा दिँदै संघर्ष अझै बाँकी रहेको बताएकी हुन् ।
वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले कर्मचारीहरूलाई जहाँ रहे पनि सतिसालझैँ अडिग भएर जनताको सेवा र राष्ट्रको उन्नतिका लागि काम गर्न आग्रह गरेकी छन् ।
‘सम्बन्धित सबै कर्मचारी साथीहरूलाई जहाँ थियौँ त्यहीँ सतिसालझैँ अडिग रहँदै जनताको सेवा र राष्ट्रको उन्नतिका लागि हिजोभन्दा आज परिस्कृत सेवा प्रदान गर्नुहोला भन्ने अनुरोध गर्दछु, वक्तव्यमा भनिएको छ ।
उनले कार्यालय समयबाहेक सामाजिक तथा सांगठनिक गतिविधिमा सहभागी हुन कसैको धम्कीबाट डराउन नपर्ने उल्लेख गर्दै संगठनात्मक शक्ति नै कर्मचारीहरूको बल भएको बताएकी छन् ।
‘सांगठनिक शक्ति नै हाम्रो बल हो । जुनसुकै लडाइँमा हारजित हुन्छ, परिणाम स्वीकार गर्नुपर्छ । लोकतन्त्रको रक्षासँग जोडिएको विषय भएकाले सबैको सहयोग अपरिहार्य छ,’ उनले भनेकी छन् ।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासको बहुमतले सरकारले अध्यादेशमार्फत गरेको निजामती कर्मचारी ट्रेड युनियन खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बिजनेस पाटी













