२०८२ फाल्गुन ६ | Feb 18, 2026

डा.भोला रिजालको नयाँ गीतले सन्देश प्रवाह, भिडियो सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
1.1k views

ललितपुर – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्दरचनामा तयार भएको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता र दर्शकबीच आएको छ। शिव परियारको स्वर र शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो हालै बिआर प्रोडक्सनमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशन वीरेन्द्र भाट ‘विपिन’ले गर्नुभएको छ भने वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठले अभिनय गरेका छन् । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महराले छायांकन गर्नुभएको हो र सम्पादन निर्देशक विपिनकै रहेको छ ।

देशको वर्तमान परिस्थिति र चुनौतीलाई ध्यानमा राख्दै तयार गरिएको यो गीत सशक्त जागरण गीतको रूपमा प्रस्तुत गरिएको छ। डा.रिजालका अनुसार, “हामी फुटेर होइन, जुटेर अघि बढौँ” भन्ने संदेशलाई यस गीतमार्फत प्रवाह गरिएको छ। गीतले देश निर्माणमा सक्रिय रहन र सकारात्मक परिवर्तनमा लाग्न आह्वान गरेको छ ।

डा.भोला रिजाल शब्द, संगीत र स्वरमा त्रिवेणी प्रतिभा भएका कलाकार हुन्। उहाँको पहिलो रेकर्डेड गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ २०२० सालमा रेकर्ड भएको थियो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उहाँको स्वरको पहिलो गीत हो। यसै सिलसिलामा, ‘अन्धकार पन्छाएर’ गीत उहाँको सांगीतिक यात्रामा महत्वपूर्ण दस्तावेजको रूपमा रह्यो ।

डा.रिजाल विसं २००४ साल कात्तिक १४ गते धरानमा जन्मिनुभयो। उहाँ सानैदेखि साहित्य, सामाजिक कार्य र खेलकुदमा सक्रिय रहनु भएको थियो । १५ वर्षको उमेरमा विवाह गर्नुभएका डा.रिजालका हजुरबुबा र बुबा पनि साहित्यिक पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।

उहाँले करिब ३५ सयभन्दा बढी गीत लेखिसक्नुभएको छ भने स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । करिब ६ दशकको सांगीतिक यात्रा अवधिमा उहाँले ‘मेरो पौवा पाटी’, ‘ईश्वर आफैँ बोल्छ’, ‘सगरमाथा रोइरहेछ’, ‘पपकर्न’ लगायत दर्जनौं एल्बम प्रकाशित गरिसक्नुभएको छ ।

साथै, डा.रिजालले आठवटा चलचित्रमा कथा र गीत लेखन गर्दै निर्माणमा योगदान दिनुभयो। विशेषतः ‘गौँथली’ चलचित्रमा महिला अधिकार र छोरी शिक्षा जस्ता सामाजिक सन्देश प्रस्तुत गरिएको छ ।

डा.रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेखनमा सक्रिय हुनुहुन्छ । ‘अन्धकार पन्छाएर’ गीतले राष्ट्रप्रेम, जागरण र सामाजिक चेतना प्रवाह गर्दै श्रोता र दर्शकबीच एकताको भाव जागृत गर्ने उद्देश्य राखेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया