भुल्केका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
663 views

ललितपुर - ललितपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणाली विस्तार हुँदै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका छन् ।

किसानहरूले हाल सुन्तला, एभोकाडो, कागती, जुनार लगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादन समेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोल का कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काका अनुसार वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह बढाएको छ । “पहिले सामान्य किसिमले खेती गथ्र्यौ, उत्पादन पनि सीमित हुन्थ्यो। अहिले बिरुवा, मल, तालिम र प्राविधिक सल्लाह पाएपछि व्यावसायिक रूपमा खेती गर्न आत्मविश्वास बढेको छ”, उहाँले बताउनुभयो । व्यावसायिक खेतीबाट आम्दानी बढ्ने अपेक्षा गरिएको छ, जसले परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा कार्यालयका अनुसार कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने लक्ष्यसहित योजनाबद्ध कार्यक्र सञ्चालन गरिएको छ । किसानको माग र व्यावसायिक योजनाका आधारमा विभिन्न जातका फलफूलका बिरुवा, मल, बीउबिजन वितरण गरिँदै आएको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण र आधुनिक खेती प्रविधिबारे तालिम प्रदान गरिँदै आएको जनाइएको छ ।

भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा विशेष जोड दिइएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो, “हामीले यहाँको हावापानीअनुसार उपयुक्त बाली छनोट गर्न किसानलाई प्रेरित गरेका छौँ। व्यावसायिक कृषिमार्फत किसानलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो।”

‘एक घर–एक टनेल’ कार्यक्रम अघि बढाइएको छ भने सिँचाइ सुविधा विस्तारका लागि सिँचाइ पोखरी निर्माण भइरहेको छ । उत्पादन वृद्धि भएसँगै बजारीकरणमा समस्या नआओस् भनेर बजार व्यवस्थापनमा योजना बनाइएको छ । सङ्कलन केन्द्र स्थापना र ढुवानी व्यवस्थापनमा सहयोग गरिने तयारी रहेको वडाले जनाएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको उदीयमान केन्द्र बनाउन सक्ने सम्भावना देखिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सृजना, आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास स्थानीय जानकारहरूको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube