
ललितपुर - सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूलाई एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
आयोगले बिहीबार वैशाख ३१ गते सूचना प्रकाशित गर्दै आफू तथा परिवारका सदस्यहरूको नेपाल र विदेशमा रहेको सम्पूर्ण सम्पत्तिको विवरण पेश गर्न आग्रह गरेको हो । सूचनाअनुसार २०६२ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंका लागेका सार्वजनिक पदाधिकारीविरुद्ध उजुरी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । भ्रष्टाचार वा अन्य गैरकानुनी कार्यमार्फत सम्पत्ति कमाएको शंका लागेमा सम्बन्धित व्यक्तिको सम्पत्ति विवरण, सम्पर्क नम्बर तथा इमेलसहित सूचना दिन सकिने आयोगले जनाएको छ ।
आयोगका अनुसार उजुरी हुलाक तथा इमेलमार्फत पनि दिन सकिनेछ । उजुरीकर्ताको नाम, ठेगाना तथा परिचय गोप्य राखिने व्यवस्था गरिएको छ ।
सूचनामा बहालवाला प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, न्यायाधीश, संवैधानिक पदाधिकारी, सेना र प्रहरीका वर्तमान तथा पूर्वअधिकारी, प्रदेश सरकारका पदाधिकारी, स्थानीय तहका प्रमुख–उपप्रमुख, राष्ट्र बैंकका गभर्नरदेखि सहसचिवस्तरका कर्मचारी, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका सल्लाहकार तथा कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
आयोगले पहिलो चरणमा आर्थिक वर्ष २०६२/०६३ देखि २०८२/०८३ चैत मसान्तसम्म सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई छानबिनको दायरामा ल्याउने जनाएको छ । त्यसका लागि एक महिनाको समय तोकेर स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण पेश गर्न आग्रह गरिएको छ ।

बिजनेस पाटी
















