
ललितपुर - दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजय (विजय थलापति) ले तमिलनाडु विधानसभा चुनावमा अप्रत्याशित प्रदर्शन गर्दै सबैलाई चकित पारेका छन् ।
थलापति’का नामले चर्चित विजयको पार्टी टीभीके (तमिलागा वेट्री कडगम) अहिले अग्रस्थानमा देखिएको छ । पछिल्लो परिणामअनुसार टीभीके १०४ सिटमा अगाडि छ भने सत्तारुढ डीएमके ६३ सिटमा सीमित भएको छ। विपक्षी एआईएडीएमकेले पनि डीएमकेलाई पछाडि पार्दै ६७ सिटमा अग्रता बनाएको छ ।
विजय स्वयं पेराम्बुर क्षेत्रबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी आरडी शेखरभन्दा करिब तीन हजार मतले अगाडि रहेका छन्। तमिलनाडु मात्र होइन, हिन्दी भाषी क्षेत्रहरूमा समेत उनको लोकप्रियता उल्लेखनीय छ ।
एक्जिट पोलहरूले राम्रो प्रदर्शनको संकेत गरे पनि वास्तविक नतिजा अपेक्षाभन्दा बढी आश्चर्यजनक देखिएको छ ।
चलचित्र क्षेत्रमा सफल यात्रा तय गरेका विजयले पछिल्लो समय राजनीतिमा सक्रियता बढाएका हुन् । गत वर्ष सेप्टेम्बरमा करूरमा आयोजित पार्टीको र्यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु भएपछि उनी पुनः चर्चामा आएका थिए । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँ क्षतिपूर्ति घोषणा गरेका थिए ।
विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो । उनका बुबा एस.ए. चन्द्रशेखर तमिल फिल्म उद्योगका चर्चित निर्देशक हुन् भने आमा शोभा गायिका हुन् । बाल्यकालदेखि नै अभिनयमा लागेका विजयले ‘नालैया थिरपु’ (१९९२) बाट मुख्य अभिनेताका रूपमा डेब्यू गरेका थिए ।
सुरुआती दिनमा सामान्य एक्सन–रोमान्टिक चलचित्रमा सीमित रहेका विजयले ‘गिल्ली’ ‘कथी’, ‘थेरी’, ‘मेर्सल’ र ‘बिगिल’ जस्ता चलचित्रमार्फत आफूलाई ‘मास हिरो’का रूपमा स्थापित गरेका छन् ।
उनको व्यक्तिगत जीवन पनि रोचक छ । लन्डनमा हुर्केकी संगीता उनका सिनेमा हेरेपछि फ्यान बनेकी थिइन् । पछि उनीहरूबीच सम्बन्ध विकसित भई २५ अगस्ट १९९९ मा विवाह भएको हो । विवाहपछि संगीता उनको व्यक्तिगत डिजाइनरका रूपमा समेत सक्रिय रहिन् ।
फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्दै टीभीके पार्टी घोषणा गरेका थिए। उनले २०२४ को लोकसभा चुनाव नलड्ने र २०२६ को विधानसभा चुनावमा केन्द्रित हुने बताएका थिए । साथै, राजनीतिमा पूर्ण रूपमा सक्रिय हुन अभिनय करिअर समेत त्याग्ने घोषणा गरेका थिए ।
उनको पार्टीको पहिलो ठूलो र्याली २७ अक्टोबर २०२४ मा विल्लुपुरम जिल्लाको विक्रवन्दीमा सम्पन्न भएको थियो, जहाँ ठूलो जनसहभागिता देखिएको थियो ।
यद्यपि, राजनीतिमा प्रवेशअघि परिवारभित्र पनि विवाद देखिएको थियो। उनका बुबाले अलग पार्टी गठन गरेपछि विजयले आफ्नो नाम राजनीतिक गतिविधिमा प्रयोग नगर्न कानुनी कदम समेत चालेका थिए ।
हालको चुनावी परिणामले विजयको राजनीतिक भविष्य बलियो बन्दै गएको संकेत गरेको छ । यदि यो अग्रता कायम रह्यो भने उनी तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावना समेत चर्चा हुन थालेको छ ।

बिजनेस पाटी












