२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल बीमा प्राधिकरण: स्वतन्त्र निकायमा राजनीति र नियुक्तिको खेल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
663 views

ललितपुर – नेपालमा बीमा व्यवसायलाई प्रणालीबद्ध, नियमित, निरीक्षण तथा अनुगमन गर्ने एकमात्र नियामक संस्था नेपाल बीमा प्राधिकरण हो । बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र निकायको रुपमा रहेको यो संस्था पछिल्ला वर्षहरूमा बारम्बार विवादमा फस्दै आएको छ । प्राधिकरणका अध्यक्षको नियुक्ति राजनीतिक हस्तक्षेप र पहुँचका आधारमा हुने क्रमले बीमा क्षेत्रमा अनिश्चितता फैलाएको विश्लेषकहरू बताउँछन् ।

लामो समयदेखि खाली रहेको बीमा समितिको अध्यक्ष पदमा २०७७ माघमा सूर्यप्रसाद सिलवाल नियुक्त भए । उनको नियुक्ति तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा मन्त्रीपरिषदले गरेको थियो । अध्यक्ष बन्ने दौडधूपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण प्रसाद आचार्य, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला पनि प्रतिस्पर्धामा थिए ।

तर गृहसचिव रहेकाले अनुभव भएका सिलवाललाई अध्यक्ष बनाइएको थियो । उनले २०२१/२/२ देखि २०२५/२/१ सम्म कार्यकाल सम्हाले। कार्यकालको अन्त्यतिर उनी विवादमा फसे । उनलाई बिचौलियाको दबाबमा पदमा राखिएको र व्यक्तिगत सन्दर्भमा नियुक्ति गरिएको आरोप लाग्यो । सिलवालका केही निर्णय विवादास्पद भए, जसले बीमा कम्पनीसँगको भरोसा घटायो र बजारमा अनिश्चितता सिर्जना भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार मुद्दा दायर गर्नुपर्‍यो ।

सिलवालपछि प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई जिम्मेवारी दिइयो । त्यसपछि अध्यक्ष बने सरद ओझा, जो कांग्रेस–एमाले गठबन्धन सरकारअन्तर्गत कांग्रेस कोटाबाट नियुक्त भएका थिए । उनको योग्यतामाथि असमन्जस्यता देखिएपछि उनलाई उच्च अदालत पुगेको छ र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरण अध्यक्षमा सहसचिव सेवन्तक पोखरेललाई नियुक्त गरे । जेनजी आन्दोलनपछि गठित सरकारले पोखरेललाई फिर्ता बोलाएर जनकराज शर्मालाई नियुक्त गर्‍यो । पछिल्लो समय प्राधिकरणको सञ्चालक समितिको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई दिइएको छ । पौडेल प्राधिकरणको १३औँ अध्यक्ष हुन् ।

बीमा ऐन, २०७९ अनुसार प्राधिकरण स्वतन्त्र र उत्तराधिकारवाला संस्था हुनुपर्ने व्यवस्था भए पनि अध्यक्षको बारम्बार परिवर्तन, राजनीतिक हस्तक्षेप र नियुक्तिको अस्थिरताले कामकाज सुस्त बनाएको बीमा क्षेत्रका विज्ञ र कर्मचारी बताउँछन् ।

पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार, बीमा क्षेत्रमा समस्या व्यवस्थागत नभई नियुक्ति र नेतृत्व अस्थिरताका कारण उत्पन्न भएको हो । अध्यक्षको चयन बिचौलिया र पहुँचका आधारमा हुँदै आएको छ, जसले नीति निरन्तरता र संस्थागत स्मृति क्षतिग्रस्त बनाएको छ ।

बीमा विज्ञ भोजराज शर्मा भन्छन्, पहिले अध्यक्ष स्थायित्वका साथ चार वर्षका लागि नियुक्त हुन्थे। नीति निरन्तरता, कार्यसम्पादन र निर्णय क्षमतामा असर पर्थ्यो । अहिले एक वर्ष नपुग्दै नेतृत्व फेरिन्छ, जसले निर्णय रोकिने र कर्मचारी अन्योलमा पर्ने अवस्था सिर्जना गरेको छ ।

बीमा क्षेत्रमा स्थायित्व, क्षमता र योग्यतामा आधारित नेतृत्व आवश्यक रहेको विज्ञहरूले जोड दिएका छन् । बारम्बार नेतृत्व फेरिनु र राजनीतिक दवावको कारण प्राधिकरणको काम र बीमा बजारको विश्वासमा असर पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया