इरानले अमेरिकी दुई युद्धविमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ ।
रिपोर्टअनुसार शुक्रबार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी सञ्चारमाध्यमले अर्को एक आक्रमण विमान पनि खसालिएको दाबी गरेका छन् ।
सैन्य विज्ञहरूका अनुसार यसअघि सन् २००३ मा इराकमाथि आक्रमणका क्रममा अमेरिकी युद्धविमान शत्रुपक्षबाट खसालिएको थियो। त्यसयता यस्तो घटना भएको थिएन ।
विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अमेरिका मुख्यतः कमजोर हतियार भएका विद्रोही समूहसँग लड्दै आएको थियो, जसले यस्ता आक्रमण गर्न सक्ने क्षमता राख्दैनथे । तर इरानसँग भने हवाई प्रतिरक्षा प्रणाली रहेकोले यस्तो घटना सम्भव भएको बताइएको छ ।
इरानमाथि एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेका छन् । यद्यपि ती आक्रमणपछि पनि इरानले क्षेप्यास्त्र र मानवरहित यानमार्फत प्रतिकार जारी राखेको छ ।
अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी हजारौँ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसले क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।
विश्लेषकहरूका अनुसार हवाई क्षेत्रमा वर्चस्व कायम राख्नु र पूर्ण नियन्त्रण हासिल गर्नु फरक कुरा भएकाले हालको अवस्थाले युद्ध अझ जटिल बन्दै गएको संकेत दिएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया