
ललितपुर - दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रुससँग कडा विरोध जनाएको छ ।
जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।
किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाइएको र घटना नदोहोर्याउन माग गरिएको जानकारी दिनुभयो ।
यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ । यद्यपि, रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।
जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो । गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।



बिजनेस पाटी
















