
ललितपुर - नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले शुक्रबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनअघि रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो। सोही आदेशअनुसार केन्द्रीय कार्यालयलाई अर्को सूचना नआएसम्म निर्वाचन नगर्न निर्देशन दिइएको छ ।
तदर्थ समितिका सदस्य डा. गंगाधर अधिकारीले अध्यक्ष शर्माको राजीनामा पुष्टि गर्दै कार्यसमितिमा छलफलपछि नै निर्णय भएको बताए ।
उनले नेपाल प्रेससँग भने, हामीबीच सल्लाह भएर नै अध्यक्षज्यू मन्त्रालयमा गएर आज राजीनामा बुझाउनुभएको हो । एउटा स्वायत्त संस्थामा सरकारले जसोतसो भन्छ त्यही स्वार्थमा हामी चल्न सक्दैनौँ ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले रेडक्रसको विधानले संघीयताको मर्म आत्मसात् गर्न नसकेको भन्दै शर्मालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।
शर्माले संक्रमणकाल अन्त्य गर्दै असारसम्म निर्वाचन सम्पन्न गराएर संस्थालाई नियमित प्रक्रियामा फर्काउने प्रयास भइरहेका बेला सरकारले झन् रेडक्रसलाई गिजोल्ने काम गरेको बताएका थिए ।
एमाले–कांग्रेस गठबन्धन सरकारले २०८२ साउन ९ गते शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्दै तीन महिनाभित्र नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघ जेनेभाले पनि रेडक्रस सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदै निलम्बनको चेतावनी दिएको थियो । शर्माको राजीनामासँगै नेपाल रेडक्रस फेरि नेतृत्वविहीन बनेको छ ।

बिजनेस पाटी












