बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ४
|
255 views

ललितपुर - बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।

यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन् । वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजाराँै महिलाको भीड थियो ।

बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट जुधाइएको छ । भक्तपुरमा आयोजना गरेको या जात्रा हरेक बिस्का जात्राको सातौँ दिन ब्रम्हायणी र महेश्वरीको रथ जुधाएर जात्रा मनाउने गरिन्छ ।

जात्राका आठौँ दिन आज (शुक्रबार) भने सुगन जात्रा मनाउने प्रचलन छ । सगुन जात्रामा भक्तपुरका स्थानीयले यहाँका विभिन्न देवीदेवताका मन्दिरमा गएर सगुन चढाएर पुजन गर्ने गरिन्छ । जात्राको नवौ दिन अर्थात् जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

 पात्रो/राशिफल  रेडियो YouTube