नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले सात वटा तर्क अघि सारेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको दस्तावेजमा उनले पचास दिनमै नेतृत्वको पूर्ण मूल्यांकन गर्नु युक्तिसंगत नहुने बताएका छन् ।
उनका अनुसार राजनीतिमा ‘हनिमुन पिरियड’ अर्थात् सुरुवाती समय केवल संकेत बुझ्ने चरण मात्र हुने भएकाले तत्कालै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिएको छ ।
शर्माले सभापति थापाको राजीनामा संगठनप्रति न्याय नहुने भन्दै अस्वीकृत गर्नुपर्ने निष्कर्ष राखेका छन् ।
उनले प्रस्तुत गरेका मुख्य तर्कहरू:
१) कांग्रेस पहिलो दल बन्न नसके पनि पार्टीले अपनाएको मूल नीति विजयी भएको उल्लेख ।
२) दोस्रो दलका रूपमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको ।
३) पराजय हुँदासमेत पार्टीपंक्तिमा उत्साह र स्थिरता कायम रहेको ।
४) विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र परिवर्तनको सन्देश दिएको ।
५) प्रतिकूल अवस्थामा पनि पार्टी चरम निराशाबाट जोगिएको विश्लेषण ।
६) अहिले पार्टीभित्र एकता र अघि बढ्ने साझा धारणा बलियो बनेको ।
७) निर्वाचन परिणामपछि नयाँ ढंगले अघि बढ्ने अवसर र आवश्यकता देखिएको ।
शर्माले नयाँ संकल्प र ऊर्जा सहित पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया