ललितपुर - ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा परेको अविरल वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४५ जना बेपत्ता भएका छन् । साथै ४०० भन्दा बढी मानिस विस्थापित भएका छन् ।
मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार बाढी, पहिरो र नदीको बहाव बढ्दा ठूलो जनधनको क्षति भएको हो ।
जुइज डे फोरा नगर प्रमुखको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाढी र पहिरोका कारण केही व्यक्ति हताहत भएको जनाएको छ, यद्यपि प्रारम्भिक विवरणमा सङ्ख्या खुलाइएको थिएन ।
मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले १४ जनाको मृत्यु पुष्टि भएको र कम्तीमा ४५ जना अझै बेपत्ता रहेको जनाएका छन् ।
जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र वर्षापछि सङ्कटकाल घोषणा गर्नुभएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ ।

बिजनेस पाटी