ललितपुर – एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ । फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरी प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो ।
बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन विस्तारमा अवरोध गरेपछि आयोजना करिब एक वर्ष ढिला भएको थियो। आयोजना प्रमुख मनोज चौधरीका अनुसार स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेपछि काम रोकिएको थियो। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि तीव्र गतिमा काम अघि बढाइएको थियो ।
कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङसम्म ८६ किलोमिटर दूरीमा ‘डबल सर्किट’ प्रसारणलाइन विस्तार गरिएको छ। पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने लक्ष्यसहित विसं २०७८ देखि निर्माण सुरु भएको आयोजना अन्तर्गत ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरिएको हो ।
आयोजना प्रमुख चौधरीका अनुसार रु चार अर्ब ७९ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त सवस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया